चितवन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज समेटिएको निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका क्रममा जडान गरिएका ६० वटा क्यामेरा हराएको तथ्य सार्वजनिक भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गणनाका लागि प्रयोग गरिएका ८५ क्यामेरामध्ये ६० वटा फेला परेका छैनन् भने २५ वटा क्यामेरा बिग्रिएको अवस्थामा भेटिएका छन्। बाघ गणनाका लागि चितवन–पर्सा क्षेत्रमा कुल एक हजार ७८० वटा क्यामेरा जडान गरिएको थियो। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ। गणनालाई प्रभावकारी बनाउन चितवन र पर्सा निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा समेटी तीन ब्लकमा विभाजन गरिएको थियो। उक्त क्षेत्रमा ९५८ वटा ग्रिड निर्धारण गरी क्यामेरा जडान गरिएको थियो। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक संकलन गरिएको तथा दुई वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर गणना गरिएको प्रशासनले जानकारी दिएको छ। यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ अभिलेख गरिएको थियो।