विराटनगर । निर्वाचनलाई बढी सहभागितामूलक बनाउँदै बदर मतको प्रतिशत घटाउने लक्ष्यसहित निर्वाचन आयोगले देशव्यापी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ ।
आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरेर अभियान चलाइरहेको हो । आयोगका अनुसार स्वयंसेवकहरू मतदाताको बस्ती र घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदानको प्रक्रिया, मताधिकारको महत्व र सही तरिकाले मत हाल्ने विधिबारे जानकारी दिइरहेका छन् ।
स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ । निर्वाचन आचारसंहिताको उल्लंघन, मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिको निगरानीका लागि आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रहेको छ ।
हानिकारक सामग्री उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ ।
६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा सिफारिस गरिएको छ । एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।