सद्भाव कायम राख्न आग्रह

विराटनगर । केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा हालै भएको घटनालाई लिएर सबै पक्षलाई संयमता अपनाउँदै आपसी सद्भाव कायम राख्न आग्रह गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको संयोजकत्वमा सिंहदरबारमा शनिबार बसेको बैठकले घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै शान्ति सुरक्षा मजबुत बनाउने निर्णय गरेको हो । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सुरक्षा निकायका प्रमुखहरूले रौतहटसहित देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

संवेदनशील क्षेत्रहरूमा आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने र सम्भावित तनाव रोक्न सक्रिय निगरानी बढाउने निर्णय गरिएको उनले बताए । बैठकले निर्वाचन सुरक्षालाई समेत थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको थियो ।

राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारिएको छ । रौतहट घटनालाई लिएर सामाजिक सद्भाव नबिग्रियोस् भन्नेमा विशेष जोड दिँदै सबै समुदाय, राजनीतिक दल र स्थानीय सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए

रौतहटमा दुई पक्षबीच झडप र आगजनी हुन थालेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । सरकारले शान्ति, सुरक्षा र सद्भाव कायम राख्न आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।