गाजा । गाजामा जारी युद्धविरामका बीच गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
प्यालेस्टिनी रेड क्रेसेन्टका अनुसार उत्तरी गाजाको एक शरणार्थी शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका हुन् । इजरायली रक्षा बलले हमासद्वारा युद्धविराम उल्लंघन भएपछि ‘आतंककारी लक्ष्य’माथि जवाफी कारबाही गरिएको दाबी गरेको छ ।
तर, हमासले भने इजरायलले नै सम्झौता तोडेको आरोप लगाएको छ । दुवै पक्षबीच आरोप प्रत्यारोप जारी रहँदा युद्धविरामको प्रभावकारितामाथि प्रश्न उठेको छ।
हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा हालसम्म गाजामा ७१ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको दाबी गरिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सीमा सुरक्षा र पुनर्निर्माणका लागि ‘बोर्ड अफ पिस’ गठनको घोषणा गरेका छन् । युद्धविरामको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहेकै बेला पुनः भड्किएको हिंसाले शान्ति प्रयासलाई थप चुनौती दिएको छ ।