विराटनगर। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले साधारण तारेख तोकेको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अदालतको यो कदम व्यावहारिक रूपमा अर्थहीन र प्रयोजनहीन भएको बताए।
अध्यक्ष ओलीले मुलुक जटिल संवैधानिक संकटमा फसेका बेला सर्वोच्च अदालतबाट समयमै फैसला आउनुपर्नेमा जोड दिए। ‘मुलुक यस्तो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनुपर्थ्यो,’ उनले भने, ‘निर्वाचनपछि यस मुद्दासम्बन्धी साधारण तारेख तोकिनुको कुनै अर्थ छैन।’
उनले ढिलो गरी आउने न्यायलाई ‘म्याद गुज्रिएको औषधि’ सँग तुलना गरे। सैद्धान्तिक रूपमा भविष्यका लागि नजिर बने पनि वर्तमान अवस्थामा यसले न्यायको मर्म सम्बोधन नगर्ने उनको जिकिर छ। ‘न्याय अर्थपूर्ण हुनुपर्छ, म्याद गुज्रिएको औषधिजस्तो न्याय ‘डेट एक्सपायर्ड’ हुन्छ,’ ओलीले थपे। अदालतले समयमै न्याय सम्पादन नगर्दा त्यसको सान्दर्भिकता सकिने भन्दै उनले न्यायपालिकाको कार्यसम्पादनप्रति प्रश्न समेत उठाए।