पोखराबाट धेरै टाढा, हिमालको काखमा रहेको मनाङको नार्पाभूमि पुग्ने बाटो हिउँले ढाकिँदा केही समयअघि गाउँ पूर्ण रूपमा बाहिरी संसारबाट टुटेजस्तै भएको थियो। बाक्लो हिउँका कारण धर्मशाला र झरना आसपासको क्षेत्रमा आवतजावत ठप्प भएपछि गाउँ पुग्ने सबै बाटो बन्द भएको थियो। आगामी निर्वाचन नजिकिँदै जाँदा भने सुरक्षाकर्मीहरूका लागि यो बाटो खोल्नु अत्यावश्यक बन्यो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली लगातार पाँच दिनसम्म खटियो। कठ्याङ्ग्रिने चिसो र बाक्लो हिउँसँग जुध्दै उनीहरूले अन्ततः बाटो खुलाए। तीन दिनको निरन्तर प्रयासपछि हिउँ पन्छाउँदै नार्पाभूमि जाने मार्ग फेरि सञ्चालनमा आएको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेल बताउँछन्। तर बाटो खुले पनि गाउँ भने अझै सुनसान छ। जाडो छल्न काठमाडौँ र पोखरातिर झरेका अधिकांश गाउँले अझै फर्किएका छैनन्। अहिले गाउँमा चौँरी गोठाला र केही वृद्धवृद्धा मात्र बसिरहेका छन्। काठमाडौँमा रहेका मतदाताहरू फागुन १४–१५ तिर गाउँ फर्किने तयारीमा रहेको जानकारी अधिकारीहरूलाई आएको छ। गाउँले नफर्किँदासम्म निर्वाचन टोली पनि गाउँ जान सकेको छैन।
अन्य स्थानमा भने मतदान सामग्री पुर्याउने तयारी अन्तिम चरणमा पुगेको छ। मतदान अधिकृत र सहायक कर्मचारीलाई तालिम दिएपछि सुरक्षा व्यवस्थासहित मतपत्र र मतपेटिका सम्बन्धित केन्द्रमा पठाइने योजना बनाइएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार यहाँ निर्वाचनका लागि सबै तयारी पूरा भए पनि सबैभन्दा ठूलो चुनौती मौसम नै हो। प्राकृतिक कठिनाइबाहेक अन्य कुनै मानव सिर्जित समस्या नरहेको उनी बताउँछन्। नार्पाभूमि गाउँपालिकामा जम्मा ४ सय ८८ मतदाता छन्। पाँच वडामा फैलिएको यो हिमाली बस्तीमा मतदाता फर्काउन स्थानीय तहले विशेष पहल गरिरहेको छ। गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार काठमाडौँमा रहेका गाउँलेलाई कम्तीमा एक जना परिवार सदस्य भए पनि मतदानका लागि गाउँ फर्किन आग्रह गरिएको छ। करिब २ सय ५० मतदाता फर्किने अपेक्षा गरिएको छ। यसपटक मनाङमा चुनावी प्रतिस्पर्धा पनि सीमित छ। नेपाली काँग्रेसका टेकबहादुर गुरुङ, नेपाल कम्युनिस्ट पार्टीकी यशोदा सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर घले मात्र मैदानमा छन्। यसअघि उम्मेदवारी दिएका एमाले र राप्रपाका उम्मेदवारहरूले काँग्रेसलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन्। हिउँ पन्छिएसँगै बाटो खुलेको छ, अब प्रतीक्षा छ—गाउँ फर्किने मतदाताहरूको, जससँगै हिमाली बस्ती फेरि केही दिनका लागि चहलपहलले भरिनेछ।