झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले मुलुकमा अराजक गतिविधि नियन्त्रण गर्न ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गरिने बताएका छन्। सोमबार झापामा आयोजित ‘नेसनल भोलेन्टियर फोर्स’ कोशी प्रदेशस्तरीय युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यका निकायमाथि आक्रमण गर्ने र अशान्ति फैलाउने गतिविधि अब सह्य नहुने चेतावनी दिए। उनले उक्त फोर्स चुनाव केन्द्रित अस्थायी संरचना नभई दीर्घकालीन उद्देश्यसहित गठन गरिएको स्पष्ट पारे। उनका अनुसार फोर्सले देशमा शान्ति, सुशासन र विकासका लागि लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै अनुशासित रूपमा काम गर्नेछ। एमालेले ‘देश पहिले’ भन्ने मान्यता बोकेको उल्लेख गर्दै ओलीले पार्टीका नीति तथा उद्देश्य कार्यान्वयनमा संगठनले महत्वपूर्ण भूमिका खेल्ने बताए। सम्बोधनका क्रममा उनले संसद भवन अगाडि आगजनी, सर्वोच्च अदालत तथा प्रहरी कार्यालयमाथि आक्रमण, प्रहरीमाथि कुटपिट र हतियार खोस्ने जस्ता गतिविधि नियन्त्रण गर्न राज्य संयन्त्रलाई सहयोग गर्ने उद्देश्यले फोर्स निर्माण गरिएको बताए। “राज्य संयन्त्रमाथि मात्र भर पर्दा अधिकार सुरक्षित हुन नसक्ने अवस्था देखियो,” उनले भने, “अब नेसनल भोलेन्टियर फोर्स बनेको छ, कहीं पनि आगजनी वा अराजक गतिविधि हुन दिइँदैन।” ओलीले कोशी प्रदेशसहित देशभर शान्ति सुव्यवस्था कायम गर्न तथा प्रहरी र सरकारलाई सहयोग पुर्याउने लक्ष्यसहित संगठन निर्माण गरिएको दाबी गरे। साथै, संगठनले कसैको अधिकार हनन नगर्ने तर अराजक गतिविधिमा संलग्नलाई भने नछोड्ने चेतावनीसमेत दिए।