बिरामीसहित दिल्ली जाँदै गरेको विमान दुर्घटना, सबैको ज्यान गयो

भारतको झारखण्ड राज्यमा एयर एम्बुलेन्स विमान दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ। सोमबार साँझ राँचीबाट बिरामी लिएर दिल्लीका लागि उडेको एयर एम्बुलेन्स झारखण्डको चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दिल्लीस्थित रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० ९भिटी–एजेभी० विमान दुर्घटनामा परेको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई स्वास्थ्यकर्मी तथा दुई क्याप्टेन गरी सात जना सवार थिए। दुर्घटनामा सबैको ज्यान गएको भारतीय दैनिक हिन्दुस्तान टाइम्स ले उल्लेख गरेको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए० का अनुसार विमान साँझ ७ः११ बजे राँचीस्थित बिरसा मुण्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरिएको भए पनि प्रतिकूल मौसमका कारण मार्ग परिवर्तनको अनुमति मागिएको थियो। तर साँझ ७ः३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुगेपछि विमानसँगको सञ्चार तथा रडार सम्पर्क एकाएक विच्छेद भएको जनाइएको छ। त्यसपछि विमान वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि सम्पर्कमा आउन सकेन। रडार रिप्ले परीक्षणमा अन्तिम संकेत साँझ ७ः२२ बजे देखिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनामा मृत्यु हुनेमध्ये ४१ वर्षीय सञ्जय कुमार रहेका छन्। आगलागीमा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लगिँदै थियो। उनीसँग सहयोगी विकास गुप्ता पनि विमानमा सवार थिए। साथै चिकित्सक सचिन कुमार मिश्र, स्वास्थ्यकर्मी अर्चना देवी र धुरु कुमार तथा क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंहको पनि ज्यान गएको पुष्टि गरिएको छ। राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ। घटनाबारे औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको छ। रेडबर्ड एयरवेज सन् २०१८ मा स्थापना भएको कम्पनी हो। कम्पनीले सन् २०१९ अगस्टदेखि चार्टर तथा एयर एम्बुलेन्ससहित गैर–अनुसूचित उडान सञ्चालनको अनुमति पाएको थियो र २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा उपलब्ध गराउँदै आएको दाबी गर्दै आएको छ। हाल चार्टर विमान सञ्चालन र नियामक निकायको निगरानीसम्बन्धी प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो। यसअघि गत जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ विमान दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि स्वतन्त्र छानबिनको माग समेत उठेको थियो। डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि त्यससम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छैन।