काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुभन्दा सात दिनअघि मदिरा बिक्री तथा वितरणमा रोक लगाउने विषयमा सरोकारवालाबीच छलफल भएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको मंगलबार बसेको बैठकमा उक्त प्रस्तावमाथि विस्तृत रूपमा विचारविमर्श गरिएको हो। बैठकमा सहभागी एक उच्च अधिकृतका अनुसार निर्वाचन आयोगले मदिरा बेचबिखन नियन्त्रण गर्ने विषयमा सरकारलाई औपचारिक सिफारिस गर्ने तयारी गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने तय भएको छ। आयोगबाट सिफारिस प्राप्त भएपछि मदिरा बिक्रीसम्बन्धी अन्तिम निर्णय गृह मन्त्रालयले गर्ने बताइएको छ।
बैठकमा सहभागी अधिकारीका अनुसार निर्वाचनको निष्पक्षता र सुरक्षा सुनिश्चित गर्न मतदानअघि कम्तीमा सात दिन मदिरा बिक्रीमा पूर्ण रोक लगाउने विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। सुरक्षा निकायहरूले मदिरा बिक्रीमा नियन्त्रण नगरे निर्वाचन अवधिमा सुरक्षा चुनौती बढ्न सक्ने विश्लेषण गरेका छन्। साथै, फागुन १९ गते मनाइने तराई होलीलाई व्यवस्थित र मर्यादित बनाउन पनि मदिरा नियन्त्रण आवश्यक रहेको निष्कर्ष बैठकमा प्रस्तुत गरिएको थियो। यसैबीच, उच्चस्तरीय सुरक्षा समितिले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सीमावर्ती नाकाहरूमा मतदानभन्दा ७२ घण्टा अघि आवागमन बन्द गर्ने निर्णय समेत गरेको छ।