काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त उजुरीहरूमा राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरिएकोमध्ये ५७ वटाको जवाफ प्राप्त भएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ८७ उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए। उनका अनुसार ८१ जनासँग लिखित स्पष्टीकरण माग गरिएको छ भने छ जनासँग पुनः स्पष्टीकरण सोधिएको छ।
आयोगले आचारसंहिता उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग समेत स्पष्टीकरण मागेको जनाएको छ। दर्ता भएका सञ्चारमाध्यम तथा त्यहाँ आबद्ध पत्रकारका हकमा भने आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत् प्रक्रिया अघि बढाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण प्रकाशन गरी निश्चित दल तथा उम्मेदवार विजयी हुने दाबी गरिएको सामग्री प्रकाशित गरेको आरोपमा सेतोपाटी अनलाइनसँग पनि प्रेस काउन्सिलमार्फत् स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
जिल्लास्तरमा समेत निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीहरू प्राप्त भइरहेका छन् र ती उजुरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। प्राप्त भएका ५४ वटा जवाफको अध्ययन तथा मूल्याङ्कन भइरहेको पनि आयोगले जानकारी दिएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित रहेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई गैरआर्थिक विषय र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन जिम्मेवारी दिइएको छ। जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने तथा पालना गराउने कार्य प्रभावकारी रूपमा सञ्चालन भइरहेको आयोगको भनाइ छ। जिल्लामा प्राप्त उजुरीका आधारमा सम्बन्धित पक्षसँग स्पष्टीकरण माग गरी दोषी देखिएकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।