महिला, ज्येष्ठ नागरिक र अपाङ्गता मैत्री मतदान केन्द्र सञ्चालन गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सबै मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक र अपाङ्गता मैत्री बनाउने व्यवस्थापन गरेको छ। आयोगले अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी मतदाताले सहज रूपमा मतदान गर्न सक्ने गरी केन्द्रहरू तयार पारेको जनाएको छ। यसका लागि आयोगले केन्द्रदेखि जिल्ला स्तरसम्म अनुगमन अधिकृतको व्यवस्था गरेको छ भने सूक्ष्म अनुगमन पनि सुनिश्चित गरिएको छ।

आयुक्त जानकीकुमारी तुलाधरले भने, “कुनै पनि मतदान केन्द्रमा सबैको सहज पहुँच हुनुपर्छ भन्ने कुरामा आयोग दृढ छ। सोही अनुसार मतदान स्थलको व्यवस्थापन गरिएको छ।” उनका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी र यौनिक अल्पसङ्ख्यक मतदाताले लामो लाइन बस्नु नपरी तुरुन्त मतदान गर्न सक्ने सुविधा मिलाइएको छ। त्यस्तै, आयोगले आम मतदाताका लागि पनि सुरक्षित र सहज मतदान वातावरण सुनिश्चित गर्दै, सबैले आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न सकून् भन्ने व्यवस्था गरेको छ।