राजधानीमा दुई गाडी जलाइए, दुर्गा प्रसाईंको नामसहितको पर्चा बरामद

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मौन अवधि लागू भएकै दिन राजधानीका दुई छुट्टाछुट्टै स्थानमा सवारी साधनमा आगजनी भएको घटना बाहिर आएको छ। मंगलबार बिहान सुकेधारा र नैकाप क्षेत्रमा पार्किङमा राखिएका दुई गाडीमा अज्ञात व्यक्तिले आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवन भट्टराईका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बर र नैकापमा बीएए २८३६ नम्बरको गाडी जलेका छन्। राति करिब ३ बजेको समयमा घटना भएको अनुमान गरिएको छ।

प्रहरीले घटनास्थलबाट केही पर्चासमेत फेला पारेको जनाएको छ। ती पर्चा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग सम्बन्धित रहेको बताइएको छ। “आगो लागेको समय बिहान ३ बजेतिर देखिन्छ। गाडीभित्र प्रसाईंसम्बन्धी पर्चा भेटिएको छ,” एसपी भट्टराईले जानकारी दिए। सवारीधनीबाट भने हालसम्म औपचारिक उजुरी नआएको उनले बताए। यसअघि फागुन १७ गते प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई पाँच दिन हिरासतमा राख्न प्रशासनबाट अनुमति प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ।

मौन अवधिमा आगजनी जस्तो घटना हुनु गम्भीर विषय भएको प्रहरीले उल्लेख गर्दै संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको जनाएको छ। घटनाबाट भएको क्षतिको विवरण संकलन भइरहेकाले वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजसमेत अध्ययन भइरहेको छ।