झापामा उच्च सतर्कता, ९ हजार सुरक्षाकर्मी खटाइए

झापा । आगामी बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै झापामा सुरक्षा व्यवस्था उच्च स्तरमा बढाइएको छ। देशभरको ध्यान केन्द्रित भएको यस जिल्लामा प्रमुख उम्मेदवारहरू प्रतिस्पर्धामा रहेकाले स्थानीय प्रशासनले करिब ९ हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीको समन्वयमा सुरक्षा व्यवस्था लागू गरिएको छ। झापा र इलामको सुरक्षा समन्वय प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीको नेतृत्वमा भइरहेको छ।

झापाका २८५ मतदानस्थलमध्ये ९५ वटा अतिसंवेदनशील, १४७ वटा संवेदनशील र ४३ वटा सामान्य घोषित गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार मतदानस्थलमा तीन तहको सुरक्षा घेरा बनाइएको छ—पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना। ‘संयुक्त गस्ती र पेट्रोलिङ तीव्र बनाइएको छ। नागरिकहरू ढुक्क भएर मतदान गर्न आउन सक्नुहुन्छ, सुरक्षा पूर्ण छ,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खगेन्द्र खड्काले पनि निर्वाचनकालीन सुरक्षा अन्य समयको तुलनामा दोब्बर रहेको बताए।

झापा यस निर्वाचनमा प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षणको केन्द्र बनेको छ। क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली र बालेन्द्र शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ, जबकि क्षेत्र नम्बर २ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना प्रतिस्पर्धामा छन्। त्यस्तै राजेन्द्र लिङ्देन पनि उम्मेदवार रहँदा चुनावी माहोल थप तातिएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी र सामग्री सोमबार साँझसम्म सबै २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार मंगलबारदेखि मतदान केन्द्रको तयारी र व्यवस्थापनको काम तीव्र पारिएको छ।

झापामा कुल ७ लाख १३ हजार ५३७ मतदाता छन्, जसमा ५० हजारभन्दा बढी नयाँ मतदाता यसपटक थपिएका छन्। निर्वाचन सञ्चालनका लागि ४ हजार ९४५ स्थायी कर्मचारी र २ हजार ४४५ स्वयंसेवक खटाइएको छ। विगतमा ६५–७० प्रतिशत मात्रै मतदान भएको झापामा यसपटक ९० प्रतिशत मतदान सुनिश्चित गर्ने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाइएको छ।