आईसीसी टी–२० २०२६: चार टोलीले सेमिफाइनल यात्रा तय, भारत सामेल

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। सुपर एट चरणको अन्तिम खेलमा साविक विजेता भारतले वेस्ट इन्डिजलाई आइतबार पराजित गरेसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। भारतअघि नै साविक उपविजेता दक्षिण अफ्रिका, गत संस्करणको सेमिफाइनलिस्ट इंग्ल्यान्ड र न्यूजिल्यान्ड सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए।

पहिलो सेमिफाइनलमा सुपर ८ समूह १ को विजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बुधबार साँझ सवा ७ बजेदेखि इडेन गार्डेन्स, कोलकातामा आयोजना हुनेछ। त्यसैगरी दोस्रो सेमिफाइनलमा सुपर ८ समूह २ को विजेता इंग्ल्यान्ड र समूह १ को उपविजेता भारत आमनेसामने हुनेछन्। यो खेल बिहीबार साँझ सवा ७ बजेदेखि मुम्बईस्थित वानखेडे स्टेडियममा खेलिने तालिका रहेको छ।

चारै टोली उपाधि दावेदार मानिएकाले सेमिफाइनल खेलहरू रोमाञ्चक हुने अपेक्षा गरिएको छ। क्रिकेट समर्थकहरूबीच उपाधि कसले जित्ला भन्ने उत्सुकता चुलिएको छ।