झापा। झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो प्रभुत्व कायम गरेको छ। प्रारम्भिक मतगणनाअनुसार सबै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा रहेका छन्, जसले पार्टीको ‘क्लिन स्वीप’को संकेत दिएको छ। झापा–५ मा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह करिब १७ हजार मत अन्तरले अगाडि छन्। उनले २२,७४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का केपी शर्मा ओली ५,८६४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङ २,६९३ मतसहित रहेका छन्।
झापा–४ मा शम्भुप्रसाद ढकाल ६,५३३ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का लालप्रसाद साँवा लिम्बू १,८४१ मतसहित पछि छन्। झापा–३ मा प्रकाश पाठक १३,८४९ मतसहित अग्रस्थानमा छन्। उनका निकट प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन ६,३०० मतसहित दोस्रो स्थानमा छन्।
झापा–२ मा इन्दिरा रानामगर १३,६६९ मतसहित अग्रस्थानमा छिन्, जबकि उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का देवराज घिमिरे २,३३९ मतसहित पछि छन्। झापा–१ मा निशा डाँगी पनि प्रतिद्वन्द्वीभन्दा दोब्बरभन्दा बढी मतसहित अग्रस्थानमा छिन्। उनले १२,९०१ मत प्राप्त गरेकी छन्, जबकि श्रम संस्कृति पार्टीका केवलराम राई ३,६९२ मतसहित दोस्रो स्थानमा छन्। प्रारम्भिक नतिजाले झापामा रास्वपाको दबदबा स्पष्ट देखाएको छ र पार्टीले सञ्चालित सबै सिटमा अग्रता कायम राख्ने अवस्था बनाएको छ।