काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५१ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अब १४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० स्पष्ट अग्रस्थानमा देखिएको छ। रास्वपाले ११६ सिटमा जित हासिल गरेको छ भने थप ९ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ। ती क्षेत्रमा पनि जित कायम रहेमा प्रत्यक्षतर्फ मात्रै रास्वपाको सिट संख्या १२५ पुग्ने अनुमान गरिएको छ।
यसैगरी नेपाली कांग्रेसले हालसम्म १७ सिट जितेको छ। बाँकी क्षेत्रमा कांग्रेसले उल्लेखनीय अग्रता कायम गर्न नसकेकाले सिट संख्या यहीँ आसपासमा सीमित रहने देखिएको छ। त्यस्तै नेकपा एमालेले ७ सिटमा विजय हासिल गरेको छ भने थप ३ क्षेत्रमा अग्रता कायम राखेको छ। यस आधारमा एमालेको सिट संख्या १० पुग्ने आकलन गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले ६ सिट जितेको छ भने १ क्षेत्रमा अग्रता लिएको छ। यता श्रम संस्कृति पार्टीले २ सिटमा जित हासिल गर्दा १ क्षेत्रमा अग्रता कायम राखेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। त्यसैगरी म्याग्दीबाट महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै प्रतिनिधिसभामा प्रवेश गरेका छन्।