काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म करिब ७७ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम राखेको छ भने अन्य प्रमुख दलहरू कांग्रेस, एमाले, नेकपा र राप्रपा त्यसको पछिपछि देखिएका छन्। निर्वाचन आयोगबाट प्राप्त ताजा मतपरिणाम अनुसार हालसम्म ७६ लाख ९२ हजार ४५९ मत गणना भइसकेको छ। यसमध्ये रास्वपा ले सबैभन्दा बढी ३७ लाख २२ हजार ५६३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। त्यसपछि नेपाली कांग्रेस ले १२ लाख ५४ हजार ३०३ मत पाएको छ भने नेकपा एमाले ले १० लाख ६२ हजार १५२ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ५ लाख ४५ हजार ६०५ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा २ लाख ६१ हजार ८४३ मत खसेको छ भने श्रम संस्कृति पार्टी ले हालसम्म २ लाख ५१ हजार ४०५ मत प्राप्त गरेको छ। समानुपातिक निर्वाचन प्रणालीअनुसार कुनै पनि दलले कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेमा मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ। हालको मतगणना परिणाम हेर्दा रास्वपा, कांग्रेस, एमाले र नेकपा ले उक्त सीमा पार गरिसकेका छन्। तर राप्रपा र श्रम संस्कृति पार्टी भने अझै पनि थ्रेसहोल्ड कटाउने दौडमा रहेका छन्। विशेषगरी श्रम संस्कृति पार्टीको अवस्था केही जोखिमपूर्ण देखिएको विश्लेषण गरिएको छ। मतगणना अझै जारी रहेकाले आगामी परिणामले दलहरूको मत प्रतिशत र स्थानमा केही फेरबदल हुन सक्ने सम्भावना रहेको छ। निर्वाचन आयोगका अनुसार बाँकी मतगणना सम्पन्न भएपछि मात्र अन्तिम परिणाम सार्वजनिक गरिनेछ।
