घरदैलोदेखि पोस्टरसम्म: बालेन्द्र शाहले कति खर्च गरे सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह ले आफ्नो चुनावी अभियानमा भएको खर्च विवरण निर्वाचन आयोग मा औपचारिक रूपमा बुझाएका छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार खर्च विवरण पेस गरेका हुन्। आयोगमा दर्ता गरिएको विवरणअनुसार शाहको चुनावी अभियानमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको देखिएको छ। झापा–५ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नवीन भण्डारी ले ०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण दर्ता गराएका थिए। विवरण अनुसार, चुनावी अभियानमा दुईवटा सवारीसाधन १५ दिन सञ्चालन गर्दा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको छ। हवाई यात्रामा पाँच पटक गरी ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

मतदातासँग सम्बन्धित कार्यक्रम अन्तर्गत ५८ जना सहभागी भएको मतदाता प्रशिक्षण कार्यक्रममा खाजाका लागि २८ हजार ९७० रुपैयाँ खर्च भएको छ। त्यस्तै, घरदैलो तथा वडास्तरीय प्रचारकार्यक्रम १५ दिनसम्म सञ्चालन गर्दा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। प्रचारप्रसार सामग्रीतर्फ, नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, झन्डा र ब्याचजस्ता प्रचार सामग्रीमा १ लाख ५७ हजार ४१ रुपैयाँ, र ब्यानर तथा स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको छ। झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनासम्म पानी तथा अन्य व्यवस्थापनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने स्टेसनरी सामग्रीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यसैगरी, उम्मेदवारी मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा समावेश गरिएको छ। निर्वाचन आयोगको नियमअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनपछि निश्चित समयमा आफ्नो खर्च विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।