
विराटनगर । झापाको शिवसताक्षी नगरपालिकामा कुटपिटबाट दुई किशोरको मृत्यु भएको छ। कुटपिटमा घाइते भएका शिवसताक्षी–९ का १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको उपचारको क्रममा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आदित्यको बीएन्डसी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो भने रोमन थापाको असार १४ गते नै मृत्यु भइसकेको थियो।
घटना असार ११ गते बिहानको हो। आदित्य तामाङ स्कुलबाट ट्युसन पढेर फर्किने क्रममा स्थानीय संगमचोक नजिकैको प्लटिङ क्षेत्रमा बोलाएर ६ जना किशोरले उनीमाथि कुटपिट गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शिवसताक्षी–११ का १५ वर्षीय सोइमन मगर, १४ वर्षीय आयुष राई, वडा ९ का १४ वर्षीय सलिम लिम्बू, १४ वर्षीय आदित्य लिवाङ, १३ वर्षीय नामकेत लिम्बू र १५ वर्षीय अंकुश सिलवाललाई पक्राउ गरेको छ।
पक्राउ परेका सबैले कुटपिटमा संलग्न भएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी रिसइवीकै कारण घटना भएको देखिएको छ।
कक्षा ८ मा अध्ययनरत आदित्य तामाङ राष्ट्रिय रमणीय मावि, दुधेमा अध्ययनरत थिए भने आयुष राई ध्रुतारा बोर्डिङ स्कुल, दुधेका विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
मृतकका परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेमार्फत जाहेरी दिएका थिए। त्यसपछि खोजीमा खटिएको प्रहरी टोलीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।