इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिकतर्फको मतगणनामा हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टी अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३२ हजार २ सय ३० मत प्राप्त गर्दै अन्य दललाई पछि पारेको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिकतर्फ खसेको ८८ हजार ५ सय २ मतमध्ये ३ हजार १ सय २० मत बदर भएका छन्। यसअनुसार ८५ हजार ३ सय ८२ मत सदर भएको छ।
मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० हजार ३ सय ६९ मतसहित दोस्रो स्थानमा छ। नेकपा |(एमाले) ले ७ हजार ८७ मत पाएको छ भने नेपाली कांग्रेसले ४ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ३ हजार ९ सय २८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४ सय ४८ मत पाएका छन्। अन्य दलले भने समानुपातिकतर्फ एक हजार मतसमेत कटाउन सकेनन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हर्क साम्पाङ अहिले आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी स्थापना गरेर सक्रिय राजनीतिमा छन्। मेयर पदबाट राजीनामा दिएपछि उनी यही पार्टीको नेतृत्व गर्दै निर्वाचनमा होमिएका थिए। सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ विजयी भएका साम्पाङको प्रभाव समानुपातिक मतपरिणाममा पनि देखिएको छ। यसले उक्त क्षेत्रमा श्रम संस्कृति पार्टीप्रति समर्थन क्रमशः बढ्दै गएको संकेत गरेको छ।