द्वन्द्वबीच ट्रम्पको आशा, तेहरानको चेतावनी: आक्रमण जारी रहने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव चाँडै अन्त्य हुने दाबी गरेका छन्। तर इरानले भने आवश्यक परेसम्म लडाइँ जारी राख्ने संकेत दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले पिबिएस न्युजसँगको अन्तर्वार्तामा हाल गोलीबारी जारी रहेको र इरान आवश्यक परेसम्म आफ्नो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्न तयार रहेको बताएका छन्। उनले अमेरिकासँग तत्काल वार्ताको सम्भावना पनि अस्वीकार गर्दै अघिल्ला वार्ताका क्रममा भएको अमेरिकी आक्रमणले तेहरानलाई अझ अविश्वासी बनाएको उल्लेख गरे।

यसबीच इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै युद्धको अन्त्य कसरी र कहिले गर्ने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ। सोमबार फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यो अभियान छोटो अवधिको हुने दाबी गर्दै द्वन्द्व छिट्टै समाप्त हुने बताएका थिए। उनले इरानले तेल आपूर्ति अवरुद्ध गर्ने प्रयास गरेमा ‘अकल्पनीय स्तरको आक्रमण’ हुने चेतावनीसमेत दिएका छन्। ट्रम्पको उक्त टिप्पणीपछि अन्तर्राष्ट्रिय बजारमा केही राहत देखिएको छ। यसअघि बढेको कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत रूपमा खुलेका छन्। अघिल्लो दिन कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो।