महिला एसियन कप छनोट : नेपाल र उज्बेकिस्तानबीचको अन्तिम खेल ‘अघोषित फाइनल’, विजेता सिधै अष्ट्रेलिया यात्रामा

विराटनगर । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ मा लगातार दुई खेलमा सानदार जित दर्ता गरेपछि नेपालले अन्तिम तथा निर्णायक खेलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ। दुवै टोली ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेका छन्, जसका कारण अन्तिम खेल ‘अघोषित फाइनल’ बन्न पुगेको हो।

उज्बेकिस्तानको घरेलु मैदानमा जारी छनोट प्रतियोगितामा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गरेको थियो। उता उज्बेकिस्तानले श्रीलंकालाई १०-० तथा लाओसलाई ७-० ले हराउँदै समान १७ गोल गर्दै एकदमै सशक्त प्रदर्शन गरेको छ। दुबै टोलीले अहिलेसम्म कुनै गोल खाएका छैनन्।

यसै आधारमा समूह विजेता बन्ने टुंगो अन्तिम खेलबाटै लाग्नेछ। यदि उक्त खेल बराबरीमा टुंगियो भने अन्य सबै सूचक (हेड टु हेड, गोल अन्तर, बढी गोल) बराबरी हुने भएकाले प्रतियोगिताको नियम अनुसार खेल सिधै पेनाल्टी सुटआउट मा जानेछ। विजेता टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान सुरक्षित गर्नेछ।

कप्तानको चुनौतीस्वीकृति

नयाँ कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को नेतृत्वमा रहेको नेपाली टोलीले सुरुवाती दुई खेलमा क्लिनसिटसहित उत्कृष्ट प्रदर्शन गरेको छ। उनले टोलीको समन्वय र सकारात्मक मानसिकताको प्रशंसा गर्दै अन्तिम खेलका लागि पनि टिम पूर्णरूपमा तयार रहेको बताएकी छन्।

“दुई खेलपछि हाम्रो आत्मविश्वास उच्च छ। अब मुख्य चुनौती उज्बेकिस्तानसँगको खेल हो, र त्यो सामना गर्न हामी तयार छौं,” उनले भनिन्।

ऐतिहासिक पृष्ठभूमि र दबाब

नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई पराजित गर्न सकेको छैन। सन् १९९९ मा पहिलोपटक उज्बेकिस्तानसँग भिड्दा नेपाल ६-१ ले पराजित भएको थियो। त्यस खेलमा पेमा डोल्मा लामाले उज्बेकिस्तानविरुद्ध नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी थिइन्।

त्यसपछि सन् २०१९ मा नादेज्दा कपमा उज्बेकिस्तानसँग दुई खेल खेलेको नेपाल दुवैमा पराजित भएको थियो—समूह चरणमा २-० र फाइनलमा ३-२ को नतिजा आएको थियो। फाइनलमा सावित्रा भण्डारीले दुई गोल गरे पनि नेपालले जित हात पार्न सकेन।

उज्बेकिस्तानको अनुभव र घरेलु फाइदा

उज्बेकिस्तानले सन् १९९९, २००१ र २००३ मा महिला एसियन कप खेलेको अनुभव बोकेको टोली हो। घरेलु मैदानमा समर्थकहरूको साथ पाउनु पनि उनीहरूको लागि लाभदायक हुने देखिन्छ। यद्यपि, नेपालले यस पटक उत्कृष्ट लय बनाएकोले उज्बेकिस्तानलाई हराउँदै नयाँ इतिहास रच्ने सुनौलो मौका पाएको छ।

नेपालका लागि सन् १९९९ पछि दोस्रोपटक महिला एसियन कप खेल्ने लक्ष्यसँगै उज्बेकिस्तानविरुद्धको खेल महिला फुटबलको इतिहास बदल्ने अवसरसमेत बन्नेछ।