काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टी महामन्त्री गगन थापाको साहस र दूरदृष्टिले कांग्रेसलाई थप बलियो बनाएको बताएका छन्। संघीय संसद् निर्वाचनको परिणाम सार्वजनिक भएपछि महामन्त्री थापालाई पत्र लेख्दै श्रेष्ठले चुनौतीपूर्ण परिस्थितिमा देखाएको नेतृत्वको प्रशंसा गरेका हुन्। उनका अनुसार निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा र विधिको शासनलाई मजबुत बनाउनु नै मुख्य उपलब्धि हो। पत्रमा उनले देश पुनः राजनीतिक स्थिरतातर्फ अघि बढिरहेको उल्लेख गर्दै यस यात्रामा थापाको नेतृत्वले पार्टीलाई आशा र स्पष्ट दिशा दिएको बताएका छन्।
पार्टीभित्र राजीनामाको चर्चा चलिरहेका बेला श्रेष्ठले अहिले राजीनामा दिनु न पार्टीका लागि उपयुक्त हुने न देशका लागि नै लाभदायक हुने स्पष्ट पारेका छन्। उनले वर्तमान अवस्थालाई नेतृत्वको असफलता भन्दा पनि जनताको परिवर्तनको चाहना अनुरूप कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। श्रेष्ठले थापाको साहस र युवालाई प्रेरित गर्ने क्षमताले कांग्रेसी कार्यकर्तामा नयाँ ऊर्जा थपेको उल्लेख गर्दै कठिन समयमा सबै कांग्रेसी एकताबद्ध भएर उनको साथमा उभिनुपर्ने बताएका छन्।
साथै उनले वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरणको आवश्यकता औँल्याउँदै महामन्त्री थापाको नेतृत्वमा पार्टीले नयाँ ऊर्जा र रूपान्तरणको मार्ग लिन सक्ने विश्वास व्यक्त गरेका छन्। निर्वाचनले कांग्रेसलाई समयानुकूल बनाउँदै युवाको आकांक्षालाई आत्मसात् गर्नुपर्ने स्पष्ट सन्देश दिएको उनको भनाइ छ।