२७ फागुन, विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ। मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा भएको घटनामा तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने बाँकी तीनमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार पूर्ण रूपमा जलेका बसहरू क्रमशः को। १ ख ६२७४ नम्बरको कृष्ण बस, प्र। १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, र बा। ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस हुन्।
आंशिक क्षति पुगेका बसहरूमा को। १ ख ३८४७ नम्बरको सुपर मादेन, बा। ५ ख ५८१४ नम्बरको बस, र बा। ५ ख ५८०९ नम्बरको बस समावेश छन्। डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धानाधीन छ। प्रारम्भिक अध्ययनले व्यक्तिको जानाजानी आगजनी नभएको र बसभित्र तार सर्ट भएर आगो लागेको देखिएको छ। “सीसीटिभी फुटेजमा कुनै शंकास्पद गतिविधि देखिएको छैन। थप अनुसन्धान जारी छ,” उनले जानकारी दिए। उनका अनुसार आगो को। १ ख ६२७४ नम्बरको बस बाट सुरु भएको थियो। यो बस विराटनगर–धरान रुटमा चल्ने बस हो र एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगलागी भइसकेको थियो। डीएसपी खड्काका अनुसार सो बस राति ९ बजे पार्किङमा प्रवेश गरेको र साढे ९ बजेबाट आगलागी सुरु भएको हो। प्रहरीलाई करिब १० बजे मात्रै घटनाको जानकारी पुगेको थियो।