काठमाडौं । दुबई विमानस्थलमा विभिन्न कारणले रोकिएका नेपाली यात्रुको उद्धार गर्न नेपाल वायु सेवा निगमले विशेष उडान सञ्चालन गर्ने भएको छ। निगमले बुधबार राति ‘स्पेसल फ्लाइट’ मार्फत त्यहाँ अलपत्र परेका यात्रुलाई स्वदेश ल्याउने तयारी गरेको जनाएको छ। निगमद्वारा मंगलबार सार्वजनिक गरिएको उडान तालिकाअनुसार वाइडबडी विमानले काठमाडौं–दुबई उडान बुधबार राति ११:१५ बजे गर्नेछ। सोही विमानले दुबईमा रोकिएका यात्रुलाई लिएर बिहीबार बिहान ४:१० बजे काठमाडौं अवतरण गर्ने योजना रहेको छ।
अमेरिका र इरानबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा दुबईमा धेरै नेपाली यात्रु अड्किएका थिए। सोही अवस्थालाई ध्यानमा राख्दै करिब १२ दिनपछि पहिलोपटक दुबईका लागि विशेष उडान सञ्चालन गर्न लागिएको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताए। उनका अनुसार उद्धार उडानमा यात्रुको व्यवस्थापन ‘पहिलो आउनेलाई पहिलो सेवा’ को आधारमा गरिनेछ। यस उडानमार्फत करिब २७० देखि २८० जना यात्रु दुबई जाने र त्यहाँ अड्किएका नेपालीलाई स्वदेश ल्याइने तयारी गरिएको छ।
निगमका अनुसार आरए २२९ नम्बरको उडान काठमाडौंबाट बुधबार राति ११:१५ बजे दुबईतर्फ उड्नेछ भने आरए २३० नम्बरको उडान दुबईबाट बिहीबार बिहान ४:१० बजे काठमाडौं फर्किनेछ। विशेष उडानमा विशेषगरी फेब्रुअरी २८ देखि मार्च ९ बीच टिकट काटेका तर विभिन्न कारणले यात्रा गर्न नपाएका यात्रुलाई प्राथमिकता दिइने निगमले जनाएको छ। त्यस्ता यात्रुले आफ्नो टिकट पुनः प्रमाणित गराएर मात्र यात्रा गर्न सक्ने जानकारी पनि निगमले दिएको छ।