नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले हालै सम्पन्न निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताको मतलाई पूर्ण सम्मान गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले निर्वाचन परिणामलाई लोकतान्त्रिक प्रक्रियाको उपजका रूपमा स्वीकार गरेका हुन्। अध्यक्ष ओली आफैं झापा–५ बाट पराजित भएका छन्। यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बालेन्द्र शाह विजयी भएका हुन्। यसपटकको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ मात्र ९ सिट जित्न सकेको छ।
ओलीले भने, “यसपटक मेरो अपेक्षा अनुसार परिणाम आएन, हाम्रो पार्टीले पनि अपेक्षित नतिजा ल्याउन सकेन। लोकतान्त्रिक प्रणालीमा अन्तिम फैसला जनताकै हुन्छ र त्यसलाई शिरोधार्य गर्नु हाम्रो कर्तव्य हो। म जनताको मत पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।” साथै उनले एमालेका समर्थक र मतदातालाई हृदयदेखि धन्यवाद दिँदै भने, “निर्वाचनको परिणाम हाम्रो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन। हामी आगामी दिनमा पनि जनतासँगै रहनेछौँ र सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”
