फिच रेटिङः रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम घटाउने, आर्थिक सुधारको ढोका खोल्ने

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी फिच रेटिङ ले नेपालको पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को स्पष्ट बहुमतले अल्पकालीन राजनीतिक अनिश्चितता कम गर्ने र नीतिगत स्थिरता सुनिश्चित गर्ने टिप्पणी गरेको छ। बुधबार निर्देशक जर्ज सुले ले निर्वाचन परिणामले सुशासन र आर्थिक सुधारका एजेन्डाहरू अघि बढाउन महत्वपूर्ण अवसर दिएको विश्लेषण गरेका छन्। गत वर्षको राजनीतिक अशान्ति र बारम्बार सरकार परिवर्तनपछि आएको यो स्पष्ट नतिजाले लामो समयदेखि जारी राजनीतिक अस्थिरता घटाउने फिचको निष्कर्ष छ।

रास्वपाको एकल बहुमतलाई नेपाली कांग्रेस र नेकपा ९एमाले० द्वारा प्रतिनिधित्व हुने ‘यथास्थितिवादी’ शक्ति बाँडफाँटको राजनीति विरुद्ध मतदाताले दिएको जनादेशका रूपमा हेरिएको छ। यसले सुधारको गति बढाउने र जलविद्युतमा आधारित लगानीलाई बृहत्तर आर्थिक वृद्धिमा लैजान मद्दत पुग्ने अपेक्षा गरिएको छ। रास्वपाले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर माथि पुर्‍याउने लक्ष्य राखेको छ। यद्यपि, फिचले यसलाई ‘महत्वाकांक्षी’ ठहर गरेको छ र आफ्नो प्रक्षेपण अनुसार १५ जुलाई २०२७ मा समाप्त हुने आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४।५ प्रतिशत रहने अनुमान छ।

नयाँ सरकारको प्राथमिकतामा उत्पादनशीलता वृद्धि, वैदेशिक रोजगारी घटाएर औपचारिक रोजगारी सिर्जना, र पूर्वाधार, कृषि, डिजिटल तथा नवीन उद्योगहरूमा निजी क्षेत्रको लगानी बढाउने योजना रहेको छ। फिचले सन् २०२५ नोभेम्बरमा नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’ स्थिर राखेको थियो। कम वैदेशिक ऋण र बलियो बाह्य तरलता यसका सकारात्मक पक्ष हुन्। तर कार्यान्वयन क्षमताको अभाव, कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तर अझै चुनौतीका रूपमा रहेका छन्। भ्रष्टाचार नियन्त्रण र व्यवसायिक वातावरण सुधारले मात्रै निजी र वैदेशिक लगानी आकर्षित गर्न सक्ने फिचको विश्लेषण छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रमको सफल कार्यान्वयन र जलविद्युत्मा आधारित मध्यमकालीन वृद्धि अर्थतन्त्रलाई सहज बनाइरहे पनि, प्राकृतिक प्रकोप र बाह्य झट्काहरूका प्रति नेपाल अझै संवेदनशील रहेको रिपोर्टमा उल्लेख छ।