काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेपाली कांग्रेसभित्र नेतृत्व बहस उठिरहेका बेला, ललितपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षाकृत कमजोर नतिजा ल्याएपछि थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारीमा भएको चर्चा थियो। तर ललितपुरका निर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा वर्तमान राजनीतिक चुनौतीमा थापाको नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कांग्रेसको ऐतिहासिक भूमिका, लोकतन्त्र र राष्ट्रियताको संरक्षणका लागि प्रभावकारी नेतृत्व अपरिहार्य भएको र थापा उपयुक्त व्यक्तित्व भएको औँल्याइएको छ। साथै राजीनामाको चर्चा अस्वीकार गर्दै पार्टी सुदृढीकरणका लागि नेतृत्व निरन्तरता जरुरी रहेको जनाइएको छ। थापालाई समर्थन गर्ने जनप्रतिनिधिहरूमध्ये ऋषिदेव फुयाँल र चिरीबाबु महर्जन पनि छन्। यसैबीच, सर्लाही–४ बाट उम्मेदवार बनेका थापा अमरेशकुमार सिंहसँग पराजित भएका थिए। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट मात्र जितेको थियो।
यसअघि केही नेताहरूले थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग राखे पनि, पार्टी उपसभापति विश्वप्रकाश शर्माले वर्तमान अवस्थामा राजीनामा नदिन सुझाव दिएका छन्।
