चुनावी हारपछि ओलीको नेतृत्वमाथि प्रश्न, अध्यक्ष पद त्याग्ने हुन् त?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली ले निर्वाचन परिणाम अपेक्षा अनुसार नआएको स्वीकार गरेका छन्। उनले लोकतान्त्रिक व्यवस्थामा जनताको फैसला नै अन्तिम हुने भन्दै प्राप्त जनमतलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि मतदान भएको थियो। उक्त निर्वाचनमा एमाले प्रत्यक्षतर्फ केवल ९ सिट मा सीमित भयो भने समानुपातिकतर्फ १६ सिट प्राप्त गर्ने अवस्थामा पुगेको छ। यससँगै प्रतिनिधिसभामा एमालेका कुल २५ सांसद रहने निश्चित भएको छ। यसअघि २०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ करिब २८ लाख मतसहित ३४ सिट र प्रत्यक्षतर्फ ४४ सिट जित्दै संसदको दोस्रो ठूलो दल बनेको थियो। तर यसपटक भने सांसद संख्या घट्दै पार्टी संसदमा दोस्रोबाट तेस्रो स्थानमा झरेको छ।

चुनावी परिणामपछि एमालेभित्र आन्तरिक समीक्षा सुरु भएको छ। नेताहरू शंकर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल र सुरेन्द्र पाण्डे लगायतले नीतिगत र नेतृत्व तहको गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। पार्टीभित्रका केही नेता तथा कार्यकर्ताले व्यक्तिकेन्द्रित नेतृत्व शैली नै हारको मुख्य कारण भएको विश्लेषण गर्दै ओलीले नैतिकताका आधारमा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने आवाज उठाएका छन्। तर ओली निकट नेताहरूले भने यस्तो माग अस्वीकार गरिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराई ले नेतृत्व पुनर्गठनको आवश्यकता औँल्याएपछि पार्टीभित्र विवाद समेत बढेको छ। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री तथा एमाले नेता कृष्ण पाठक ले भट्टराईको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनलाई बाह्य शक्तिकेन्द्रबाट प्रभावित भएको आरोपसमेत लगाएका छन्।

यसैबीच एमाले नेतृ विद्या भट्टराई ले आरोप–प्रत्यारोपमा अल्झिनुको सट्टा गम्भीर आत्ममन्थन गर्न नेतृत्वलाई आग्रह गरेकी छन्। कम्युनिस्ट आन्दोलनको पुनर्जीवन र जनविश्वास पुनः प्राप्त गर्न विचार, सिद्धान्त र व्यवहारबीच सामञ्जस्य आवश्यक रहेको उनको धारणा छ।

पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किए पनि अध्यक्ष ओली भने पद छाड्ने पक्षमा नरहेको नेताहरू बताउँछन्। हालै गुण्डुमा ओलीसँग भेट गरेका एक नेताका अनुसार उनले “गल्ती कमजोरी सुधार्न सकिन्छ, तर नेतृत्व छाड्नु समाधान होइन” भन्ने धारणा राखेका छन्।

यद्यपि आगामी एमाले बैठकमा केही नेताहरूले ओलीको राजीनामाबारे विषय उठाउने तयारी गरेका छन्। सचिवालय बैठकमा यसबारे छलफल हुन सक्ने र आवश्यक परे केन्द्रीय कमिटीसम्म मुद्दा पुग्न सक्ने नेताहरूले बताएका छन्।एमाले उपमहासचिव लेखराज भट्ट ले भने पार्टीको आन्तरिक विषय भएकाले बैठकमा हुने छलफलबारे अहिले नै टिप्पणी गर्नु उचित नहुने बताएका छन्।