कम्बोडियाबाट १६ जना नेपाली उद्धार: अनलाइन स्क्यामिङमा परेका नागरिकहरू सुरक्षित स्वदेश फर्किए

काठमाडौँ।  मानव तस्करीको फन्दामा परेका १६ जना नेपाली नागरिक कम्बोडियाबाट उद्धार गरिएका छन्। यी नेपालीहरूलाई अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो, र अन्य गैरकानुनी काममा संलग्न गराइएको थियो। केहीले भिसा नलिई वा भिसा अवधि सकिएपछि पनि त्यहाँ बसिरहेका थिए।

उद्धारमा बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोग प्रमुख रह्यो। साथै, गैरआवासीय नेपाली संघ ९एनआरएनए० कम्बोडियाले सहजीकरण गर्दै उनीहरूलाई आज नेपाल फर्काइएको छ। राजदूतावासले जनाएका अनुसार, कम्बोडियामा अझै केही नेपालीहरू कठिन परिस्थितिमा अलपत्र छन्। तिनीहरूलाई सुरक्षित रूपमा फर्काउने प्रक्रिया जारी रहेको छ।

यसैबीच, विदेश रोजगारीको नाममा हुने मानव तस्करी र ठगीविरुद्ध सचेत रहन नागरिकहरूलाई आग्रह गरिएको छ। वैदेशिक रोजगारीका लागि जानेहरूले सिर्जित आधिकारिक प्रक्रिया अपनाउन र सम्बन्धित निकायबाट जानकारी लिएर मात्र विदेश जाने सल्लाह दूतावासले दिएको छ।