नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्। ९७ वर्षको उमेरमा मोहनप्रसाद ओली आज बिहान निधन भएको हो। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शोक व्यक्त गरेका छन्।
गगन थापाले मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना गरेका छन्। साथै, उनले यस कठिन घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि निधनको खबरले आफू दुःखी भएको बताएका छन् र दिवंगतको आत्माको चिरशान्तिको कामना गरेका छन्। उनले शोकाकुल परिवारजनप्रति पनि गहिरो संवेदना व्यक्त गरेका छन्।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई भेट्न पुगेका थिए। उनले मोहनप्रसाद ओलीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी शर्मा ओलीसहित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। यस्तै, सहसंयोजक माधवकुमार नेपालले पनि दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै पितृवियोगमा परेका केपी शर्मा ओलीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।