नयाँ सरकार गठनमा अझै एक साताभन्दा बढी समय लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले समानुपातिक उम्मेदवारको सूची टुंग्याएर आयोगमा पेश गरिने जानकारी दिएका छन्। उनले भने कि समानुपातिक सांसदहरूको नामावली तय गर्न तथा अन्य विषयमा छलफल गर्न आज पार्टीको बैठक पनि बस्नेछ।

प्रवक्ता झाले भने, “हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउने भएकाले आजै यो प्रक्रिया टुंग्याइनेछ।” सरकार गठनसम्बन्धी प्रक्रिया भने अझै केही संवैधानिक र व्यवहारिक कार्य बाँकी रहेका कारण नयाँ सरकार बन्न करिब १० दिन लाग्न सक्ने उनले बताए।

उनका अनुसार संसद् सचिवालयले आवश्यक तयारी गर्नुपर्ने, निर्वाचन आयोगले निर्वाचन प्रक्रियाको अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउन बाँकी रहेको र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने प्रक्रिया पनि सम्पन्न हुन बाँकी छ। यी सबै प्रक्रिया विभिन्न निकायको जिम्मेवारीमा पर्ने भएकाले निश्चित समय तोकेर भन्न कठिन भए पनि करिब १० दिनभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको प्रवक्ता झाले बताए।