काठमाडौं । बैंकिङ कसुर मुद्दामा अदालतबाट ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना सजाय ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौंको नागार्जुन नगरपालिका–५, सितापाइलाबाट पक्राउ गरेको जनाएको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटारको जाहेरीका आधारमा गरिएको अनुसन्धानमा श्रेष्ठले निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुनेगरी अनियमित तथा गैरकानुनी गतिविधि गरेको खुलेको थियो। सोही आधारमा उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो।
यस विषयमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते फैसला सुनाउँदै श्रेष्ठलाई दुई छुट्टाछुट्टै मुद्दामा सजाय निर्धारण गरेको थियो। अदालतले पहिलो मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना र थप ३ वर्ष कैद सजाय तोकेको थियो।
यसरी श्रेष्ठलाई कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिवाना र ६ वर्ष कैद सजाय ठहर भएको थियो। फैसलापछि फरार रहेका उनलाई प्रहरीले २०८२ चैत १ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको जनाएको छ।