विराटनगर । आज कोशी प्रदेशका हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना मौसमविद्ले औँल्याएका छन्।
यस्तै, मधेश प्रदेशमा आज मौसम आंशिक बदली रहनेछ। त्यहाँका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने बताइएको छ। रातिको समयमा भने कोशी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि अन्य अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यसैबीच आज बिहान कोशी प्रदेशको पूर्वी तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको र मौसम पूर्ण रूपमा खुल्न नसकेको जानकारी दिइएको छ।