रंगेलीको संसारी मन्दिरमा दैनिक डेढ सय बोका बलि

मोरङको रंगेलीमा अवस्थित सांसारी मन्दिर नेपाली मात्र नभई भारतीय भक्तजनका लागि पनि प्रमुख श्रद्धास्थल बनेको छ। विशेषगरी बिहार, पश्चिम बंगाल र उत्तरप्रदेशबाट दैनिक हजारौं भक्तजन यहाँ दर्शन र भाकल गर्न आउँछन्। भक्तजन आफ्नो मनोकांक्षा पूरा गर्न माताको भाकल गर्छन्। भाकल पूरा भएपछि बोका र अन्य बली दिने परम्परा कायम छ। हप्तामा करिब सातसय भन्दा बढी बोका मन्दिरमा चढाइन्छ। प्रसाद नदी किनारमै ग्रहण गर्नुपर्ने र बाहिर लग्न नहुने परम्परा छ।

शनिबार र मंगलबार यहाँ बली दिने भक्तजनको संख्या सबैभन्दा बढी हुन्छ। दैनिक पाँच हजारभन्दा बढी श्रद्धालु मन्दिरमा पुग्ने गरेका छन्। भक्तजनको सुविधा र व्यवस्थापनका लागि मन्दिरभित्र विश्रामस्थल बनाइएको छ। बिहानैदेखि बली दिने क्रम सुरु हुन्छ र पौने १२ बजे मन्दिर बन्द गरेर फेरि ३ बजे पुनः शुरु हुन्छ। सन्तान प्राप्ति, स्वास्थ्य लाभ र अरोग्यका लागि भक्तजनले यहाँ पूजा अर्चना गर्छन्। कोसी प्रदेश सरकारले यो मन्दिरलाई कोसी प्रदेशस्तरीय धार्मिक स्थलको रूपमा विकास गरेको छ। दशैंमा फुलपाती र काबराको रुखमुनि माताको प्रतिमा पूजाआराधनाको मुख्य आकर्षण हुन्।