फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड

चितवन। भरतपुर महानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। जग्गाको भोगाधिकार र वृक्षरोपण खर्चका लागि आवश्यक रकम महानगरले बजेटमा विनियोजन गरिसकेको छ।

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार, भरतपुर–११ स्थित राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाहा जग्गा भोगाधिकारका लागि करिब तीन करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यसअघि महानगरपालिकाले पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरिसकेको छ। वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि बाँकी रकम भुक्तान गर्न भनिएको छ, अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्यांक र कागजातहरू उपलब्ध गराइसकिएको छ। मन्त्रालयले मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान प्रक्रिया सुरु गर्ने आश्वासन दिएको छ। जग्गा भोगाधिकारका लागि र एक बिरुवा कटान भएबापत प्रत्येक १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने व्यवस्था अनुसार महानगरले पहिल्यै पाँच करोड १९ लाख ७५ हजार रुपैयाँ भुक्तान गरिसकेको छ। वृक्ष संरक्षणका लागि थप एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

हाल भरतपुर महानगरपालिकामा दैनिक करिब ८० टन फोहोर संकलन भइरहेको छ, जुन आँपटारी नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ।