काठमाडौँ । शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन दुई खेल तालिका गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ललितपुरस्थित च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने छ। पहिलो खेलपछि दिउँसो ३ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी आमनेसामने हुनेछन्।
यस संस्करणको लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम ९एनआरटी०, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएका छन्। ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ। सबै टोलीले एकअर्कासँग एक–एक खेल खेल्ने सिंगल राउन्ड रोविन ढाँचामा लिग आयोजना गरिएको एन्फाले जनाएको छ।