प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा सम्पन्न गरेकी छन्। हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कृतज्ञता व्यक्त गर्दै उनले पशुपतिनाथमा विशेष पूजा अर्चना गरेकी हुन्, प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पूजापछि प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थायित्वको दिशामा अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन्। उनले आगामी दिनमा राष्ट्र अझ प्रगति र समृद्धितर्फ अग्रसर होस् भन्ने कामना समेत व्यक्त गरिन्। साथै, नेपाली समाजमा आपसी एकता, सद्भाव र आत्मीयता थप सुदृढ हुँदै जाओस् भन्ने आशयका साथ उनले सबैलाई एकजुट हुन आह्वान गरेकी छन्। उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।