विराटनगर । मोरङको सुन्दरहरैँचामा टिपर र स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा बिहीबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटरमा पछाडि सवार सुन्दरहरैँचा–४ का २० वर्षीय अमृत अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्। यस्तै, स्कुटर चालक सुन्दरहरैँचा–५ का १८ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।प्रहरीले बालुवा बोकेको टिपर र चालक सप्तरी तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।