श्रद्धा र आस्थाको पर्व चैती छठ आजदेखि सुरु

जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आजदेखि आस्थाको महान पर्व चैती छठ विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म विविध धार्मिक विधिअनुसार मनाइने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लामा श्रद्धा र उत्साहका साथ मनाउन थालिएको हो। जलेश्वर, मटिहानी, गौशाला, बर्दिबासलगायत स्थानका नदी, पोखरी तथा जलाशय किनारमा भक्तजनको चहलपहल बढ्न थालेको छ।

धार्मिक मान्यताअनुसार सूर्य उपासनामा केन्द्रित यस पर्वले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने सन्देश दिने विश्वास गरिन्छ। जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरका पुजारी कामेश्वर पाठकका अनुसार अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिने भएकाले छठलाई विशिष्ट पर्वका रूपमा लिने गरिन्छ। पर्वको पहिलो दिन ‘नहाय–खाय’सँगै व्रत सुरु हुन्छ भने दोस्रो दिन ‘खरना’मा दिनभरि निराहार बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गरिन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्व सम्पन्न गरिन्छ।

छठका अवसरमा ठकुवा, खजुरिया, भुसवा, पेरुकियाजस्ता परम्परागत परिकार तथा फलफूल चढाइने गरिन्छ। परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित मनाइने यस पर्वमा नदी तथा पोखरी किनारमा श्रद्धालुहरूको उल्लेख्य भीड लाग्ने गर्दछ। धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीकका रूपमा विकसित यस पर्व हिन्दू मात्र होइन, मुस्लिम समुदायले पनि समान रूपमा मनाउने परम्परा रहिआएको छ।