८ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एक सातामै २७ हजार ४ सय रुपैयाँले घटेको हो। गत साताको आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४ सय रुपैयाँ थियो।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, विशेषगरी तेलको मूल्यवृद्धि र अमेरिकी डलरको माग बढ्नुका कारण सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। सुन बिक्रीबाट डलर आपूर्ति बढ्दै जाँदा पनि मूल्य घट्न सहयोग पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ८९५ रुपैयाँ थियो। एक साताको अवधिमा चाँदीको भाउ ७३० रुपैयाँले घटेको छ। गत आइतबार चाँदी ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते यसले ७ हजार ५०५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो ब्याजदरको दबाब र आर्थिक अनिश्चितताका कारण बहुमूल्य धातुको मूल्यमा गिरावट आउने क्रम जारी रहेको देखिएको छ।