८ चैत, काठमाडौं । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। ललितपुर महानगरपालिका–स्थित हरिसिद्धीमा रहेको होसना इट्टाभट्टामा अचानक पर्खाल भत्किँदा दुर्घटना भएको हो। घटनामा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुमकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेका छन्। घाइतेहरूलाई उपचारका लागि मेडसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।