विराटनगर, चैत ८ — विश्व हिन्दु परिषद् नेपालले विराटनगरमा श्रीराम जन्मोत्सव तथा हनुमान जन्मोत्सवको अवसरमा विविध धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने भएको छ।
नेपाल पत्रकार महासंघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपाल कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ताले चैत १३ गते शुक्रबार पर्ने श्रीराम जन्मोत्सव (राम नवमी) का अवसरमा बाईक र्याली आयोजना गरिने जानकारी दिए। साथै, चैत १९ गते बिहीबार हनुमान जन्मोत्सवको अवसरमा रथसहितको भव्य शोभा यात्रा निकालिने उनले बताए।
उनका अनुसार दुवै कार्यक्रम विराटनगर बजार क्षेत्रको परिक्रमा गर्दै बाजागाजासहित भव्य रूपमा सम्पन्न गरिनेछ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै कार्यक्रम सफल बनाउन आम नागरिकलाई सहभागी हुन उनले आग्रह गरे।
अध्यक्ष गुप्ताले कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायसँग शान्ति सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाइदिन समेत अनुरोध गरेका छन्।
श्रीराम जन्मोत्सवको बाईक र्याली संयोजकको जिम्मेवारी सन्दीप साहलाई दिइएको छ भने हनुमान जन्मोत्सवको रथसहितको शोभा यात्राको संयोजकको जिम्मेवारी विजय साहलाई दिइएको जानकारी समेत उनले दिए।