काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएसँगै नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने चर्चा चुलिएको छ। नेपाल आयल निगमले मूल्यवृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नु परेको भन्दै खपत घटाउने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ। यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवका अनुसार एक चरणको छलफलमा पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा विचारविमर्श भएको थियो। उनले जोर–बिजोर प्रणाली लागू गर्ने सम्भावनाबारे छलफल भएको पुष्टि गरेका छन्, तर ठोस निर्णय अझै भइसकेको छैन।
यसबीच, नेपाल आयल निगमले हालसम्म नेपालमा आपूर्ति प्रणालीमा प्रत्यक्ष असर नपरेको र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको बताएको छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएकाले भविष्यमा चुनौती सामना गर्न खपत घटाउने तयारीमा जुटिएको निगमका अधिकारीहरूले बताएका छन्। मनोज ठाकुरका अनुसार पछिल्लो समय मूल्य बढेसँगै निगमले दैनिक चार अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य प्रतिलिटर ५४ रुपैयाँले बढ्दा पनि निगमले १० रुपैयाँ मात्र वृद्धि गरेको छ। त्यस्तै, पेट्रोलमा ३१ रुपैयाँ र ग्यासमा २१६ रुपैयाँ बढ्दा पनि पुरानै मूल्य कायम गरिएको छ।
प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढ्ने सम्भावना देखिएकाले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने आवश्यकता औँल्याएका छन्।