मोरङको सुन्दरहरैँचामा नालीमा युवकको शव फेला

विराटनगर — मोरङको सुन्दरहरैँचा नगरपालिका–२ मा एक जना युवक मृत अवस्थामा फेला परेका छन्। मृतक ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार अधिकारीको शव सुन्दरहरैँचा–२ स्थित हिमाल चोक नजिक सडक छेउको नालीमा भेटिएको हो। सोमबार बिहान स्थानीयले नालीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। सोही टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार घटनास्थल नजिकै एउटा साइकल पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा अधिकारी राति साइकल चढेर घर फर्कने क्रममा नालीमा खसेको हुनसक्ने अनुमान गरिएको छ।

डीएसपी लामिछानेका अनुसार नाली निकै गहिरो भएकाले लडेपछि उठ्न नसकेर मृत्यु भएको हुनसक्ने देखिएको छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।