विराटनगर । मधेश प्रदेशको मिथिला क्षेत्र तथा तराई–मधेशमा आज (मंगलबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्वको मुख्य दिन श्रद्धा र भक्ति साथ मनाइँदै
छ ।
चार दिनसम्म चल्ने यस पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू जलाशयमा पसेर अस्ताउँदो सूर्यको पूजा गर्छन् । आइतबारदेखि सुरु भएको छठ पर्वअन्तर्गत मंगलबार साँझ व्रतालुहरुले गहुँ र चामलको पीठोबाट बनाइएका ठेकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका परिकार तथा विभिन्न फलफूल लिएर नजिकका नदी, पोखरी र तलाउ किनारमा पुग्छन् ।
परिवारका सदस्यसँगै भजन–कीर्तन गर्दै छठघाट पुगेर उनीहरूले धार्मिक विधिअनुसार अर्घ अर्पण गर्ने गर्छन् । सन्ध्याकालीन अर्घका क्रममा व्रतालुहरू पानीमा उभिएर सूर्य अस्ताउञ्जेल पूजा गर्दै दुवै हत्केलामा पिठार, सिन्दुर र अक्षता चढाई क्रमशः अर्घ दिन्छन् ।
महोत्तरीसहित जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास लगायतका क्षेत्रमा रहेका जलाशयहरूमा भक्तजनको ठूलो भिड लाग्ने गरेको छ । यसअघि पर्वको दोस्रो दिन ‘खर्ना’ मनाइएको थियो । जसमा व्रतीहरूले दिनभरि निराहार उपवास बसेर साँझ पूजा गरी प्रसाद ग्रहण गरेका थिए । छठको अन्तिम दिन बुधबार बिहान पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन हुनेछ ।
सूर्य उपासना र लोक आस्थासँग जोडिएको यस पर्वले पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । पछिल्लो समय तराई–मधेशसँगै काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा पनि छठ पर्व व्यापक रूपमा मनाउन थालिएको छ ।