बालेन नेतृत्वको सरकारको पहिलो बैठक: के आउँछ नयाँ निर्णय?

काठमाडौं । १३ चैत, प्रधानमन्त्रीमा नियुक्त भई केहीबेरमै शपथ लिने तयारीमा रहेकाबालेन शाहले पहिलो मन्त्रिपरिषद् बैठकका सम्भावित निर्णयहरूको तयारी अघि बढाएका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार विभिन्न मन्त्रालयहरूबाट तत्काल कार्यान्वयन गर्न सकिने योजनाहरूको विवरण संकलन भइरहेको छ।

मुख्यसचिवसुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयहरूलाई पत्राचार गर्दै छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने जनमुखी कार्यक्रमहरूको संक्षिप्त विवरण पठाउन अनुरोध गरेको थियो। एक मन्त्रालयका सचिवका अनुसार सोही पत्रका आधारमा मन्त्रालयहरूले एक/दुई पृष्ठमा तत्काल गर्न सकिने काम, त्यसको प्रभाव तथा सम्भावनासहितका प्रस्तावहरू पठाइसकेका छन्। ती प्रस्तावहरूमध्ये उपयुक्त ठहरिएका योजनाहरूलाई छनोट गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने तयारी रहेको बताइएको छ।

स्रोतका अनुसार संकलित प्रस्तावहरू प्रधानमन्त्रीको सचिवालयमा पुगेका छन्, जहाँ विज्ञ टोली र निजामती कर्मचारीहरूले प्राथमिकता निर्धारण गरिरहेका छन्। अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ।प्राप्त जानकारीअनुसार मन्त्रालयहरू गाभेर संरचना छरितो बनाउने, पासपोर्ट, नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरूलाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा परेका छन्। साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधारका प्रस्तावहरू पनि समावेश गरिएको जनाइएको छ।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सुशासन मार्गचित्र (गुड गभर्नेन्स ब्लुप्रिन्ट) समेत प्रधानमन्त्रीको सचिवालयमा पुगिसकेको छ। विगतका भ्रष्टाचार अनुसन्धान तथा गैरकानूनी सम्पत्ति छानबिनसम्बन्धी विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ।

यद्यपि कुन प्रस्ताव पहिलो बैठकमै निर्णय हुने र कुन पछि सारिने भन्नेबारे अन्तिम टुंगो लागिसकेको छैन। स्रोतका अनुसार पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरू मुख्यतः प्रधानमन्त्री र उनको टोलीको प्राथमिकताका आधारमा तय हुने अपेक्षा गरिएको छ।