एकादशी महिला समाजद्वारा २ दिने दाइजो प्रथा विरुद्ध तालिम सुरु

विराटनगर । एकादशी महिला समाजद्वारा आयोजना गरिएको २ दिने दाइजो प्रथा विरुद्धको तालिम आजदेखि सुरु भएको छ। उक्त कार्यक्रम विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन भइरहेको हो। “छोरीलाई दाइजो होइन, शिक्षा देऊ” भन्ने मूल नाराका साथ सुरु भएको यस तालिममा करिब ६० महिला र २५ पुरुष गरी जम्मा ८५ जनाको सहभागिता रहेको छ।
कार्यक्रम उद्घोषक देवनारायण मुखियाका अनुसार एकादशी महिला समाजकी सचिव सरिता कुमारी बहरदारको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपाने रहेका थिए। त्यस्तै अतिथिमा अरुण पण्डितसहित समाजका उपाध्यक्ष रञ्जना मेहता, सह–सचिव मुनि साह, कोषाध्यक्ष सुनिता यादव तथा सदस्यहरू कौशलिया शर्मा र रामवती मुखिया लगायतको उपस्थिति रहेको थियो। तालिम प्रशिक्षक पदम सरदार रहेका छन्। कार्यक्रमका सभापति सरिता कुमारी बहरदारका अनुसार तालिमको दोस्रो तथा अन्तिम दिन सहभागीहरूलाई अझ प्रभावकारी प्रशिक्षण दिई प्रमाणपत्र वितरण गरिनेछ।