प्रधानमन्त्री बालेन्द्र शाहलाई तिब्बती निर्वासित सरकारको बधाई

तिब्बती निर्वासित सरकारका प्रमुख नेता पेम्पा छेरिङ ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिएका छन्। केन्द्रीय तिब्बती प्रशासन तथा तिब्बती जनताको तर्फबाट उनले शाहलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन्। बधाई सन्देशमा सिक्योङ छेरिङले ‘जेन–जेड’ नेतृत्वमा भएको हालैको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा शाहको उदय नेपाली जनताको, विशेषतः युवा पुस्ताको आकांक्षाको सशक्त प्रतीक बनेको उल्लेख गरेका छन्। पत्रमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध गहिरो र दीर्घकालीन रहेको उल्लेख गर्दै ती सम्बन्धलाई नेपालमा बसोबास गर्ने तिब्बती समुदायले अझ मजबुत बनाएको बताएका छन्। तिब्बतमा भएको जबरजस्ती कब्जापछि शरण लिएका तिब्बतीहरूले आफ्नो पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको पनि उनले स्मरण गरेका छन्। साथै, यसका लागि नेपाल सरकार र नेपाली जनताको उदारताप्रति गहिरो आभार व्यक्त गरिएको छ। अन्त्यमा, प्रधानमन्त्री शाहको सक्षम नेतृत्वमा नेपाल–तिब्बत सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने आशा पनि उनले व्यक्त गरेका छन्।