काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा प्रदान गर्न आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिएको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कानुनी कारबाहीको चेतावनी दिएको छ। बोर्डका अनुसार बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक संस्थाहरूले बीमित सेवाग्राहीलाई दुःख दिने, सेवा नदिने जस्ता समस्या देखिएका छन्। यसप्रति ध्यानाकर्षण गर्दै बोर्डले सबै स्वास्थ्य संस्थालाई सहज र प्रभावकारी रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
यस्तै, बीमा सेवा लिन अग्रिम समय लिनुपर्ने व्यवस्था, बीमितप्रति भेदभावपूर्ण व्यवहार तथा आवश्यक सेवा र औषधि उपलब्ध नगराउने जस्ता गतिविधिप्रति पनि बोर्डले गम्भीर चासो व्यक्त गरेको छ। स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ सहित प्रचलित कानुनविपरीत कुनै पनि कार्य नगर्न बोर्डले सचेत गराएको छ।
अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्था नियमविपरीत कार्यमा संलग्न पाइएमा स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार कडा कारबाही गरिने बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
